नियम २८
वैदेशिक सहायता अन्तर्गत खर्च हुन बाँकी रकम यकिन गर्नु पर्ने
(१) मित्र राष्ट्र वा अन्तर्राष्ट्रिय संघ संस्थाबाट प्राप्त भएको वैदेशिक ऋण, अनुदान वा सहयोगबाट सञ्चालित आयोजनाले वार्षिक कार्यक्रम तयार गरी पठाउदा मित्र राष्ट्र वा अन्तर्राष्ट्रिय संघ संस्थासग वैदेशिक ऋण अनुदान सहयोगका सम्बन्धमा भएको सम्झौताका विभिन्न शीर्षकमा व्यवस्थित रकम मध्ये चालू वर्षको अन्त्य सम्ममा खर्च भई आगामी आर्थिक वर्षको लागि के कति बचत रहन्छ भन्ने कुरा समेत अनुसूची–४, अनुसूची–५, अनुसूची–६ र अनुसूची–७ बमोजिमका ढाचाका फाराम भरी पेश गर्नु पर्नेछ । यसरी पेश गरिसकेका फाराममा भरिएका अंकहरूलाई वैदेशिक सहायता प्रदान गर्ने मित्र राष्ट्र वा अन्तर्राष्ट्रिय संघ संस्थाको सहायता विवरण प्रतिवेदनले पुष्ट्यार्इं गरेको हुनु पर्नेछ ।
(२) एउटै वैदेशिक सहायता सम्झौता अन्तर्गत प्राप्त भएको ऋण, अनुदान सहयोग एक भन्दा बढी निकायले उपयोग वा खर्च गर्ने अवस्था भई ती मध्ये कुनै निकायलाई संयोजक तोकिएको भए सो निकायले र संयोजक नतोकिएको भए सबैभन्दा बढी सहयोग उपयोग गर्ने निकायले सम्पूर्ण विवरण समायोजन गरी उपनियम (१) बमोजिम पेश गर्नु पर्नेछ । संयोजन गर्ने निकाय वर्षै पिच्छे फरक–फरक हुने भएमा शुरु वर्षमा जुन निकायबाट संयोजन गरिएको हो, सोही निकायले सो कार्य गर्नु पर्नेछ ।
(३) एउटै वैदेशिक ऋण, अनुदान सहयोग सम्बन्धी सम्झौता अन्तर्गत वैदेशिक सहायता उपयोग गर्ने सबै निकायलाई अर्थ मन्त्रालयले एकै पटक उपस्थित गराई बजेट छलफल गर्नु पर्नेछ ।